३१ बैशाख, काठमाडौं । नेकपा एमालेले वैदेशिक रोजगारीका लागि साउदी अरबिया पुगेर अलपत्र परेका ४६९ जना नेपाली कामदारको उद्दारका लागि सरकारसँग आग्रह गरेको छ ।
आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद तथा प्रमुख सचेतक महेश कुमार बर्तौलाले त्यहाँको कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र परेको भन्दै उनीहरूको उद्दारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन । साउदीमा सेन्डन इन्टरनेशनल नामक कम्पनी बन्द हुँदा नेपाली श्रमिकहरू अलपत्र परेको भन्ने समाचार आइरहेका छन् । त्यहाँ झन्डै ४ सय ६९ जना नेपाली कार्यरत थिए । तिनीहरूले तलब पनि पाएका छैनन ।
साउदी अरबको जुबेल सहरमा रहेको सेन्डन इन्टरनेशनल कम्पनी लिमिटेड नामक कम्पनी बन्द हुँदा उनीहरू अलपत्र परेका हुन । अलपत्र पर्नेमा प्रायजसो सो कम्पनीमा दुई वर्षभन्दा बढी समय काम गरेका नेपाली कामदार रहेका छन । पीडितहरूले आफूहरू कम्पनी बन्द भएका कारण अलपत्र परेको र उद्दार गरिदिन त्यहाँको दूतावासलाई निवेदन दिएका थिए। अधिकांशले दुई महिनादेखि ९ महिनासम्म काम गरेको तर तलब नपाएको गुनासो गरेका छन ।