३१ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि सङ्घले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै प्रदेश र स्थानीय तहप्रति सङ्घ सरकारले विश्वास नगरेको बताए । उनले सङ्घीयताको विरोधी अरू कोही नभएर सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू रहेको पुष्टि भएको जिकिर गरे ।
उनले सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू सत्तामा पुग्दा सङ्घीयता कार्यान्वयन नहुने गरेको बताउँदै कानुन नबन्दा प्रदेश सरकारले अधिकार नपाएको बताउए । उनले बनेका कानुनको अधिकार प्रदेशलाई हस्तान्तरण नहुने, बनेको कानुन कार्यान्वयन नहुने, बजेट फिर्ता ल्याइने जस्ता कामहरू सङ्घ सरकारबाट भएको बताउँदै सङ्घीयता प्रतिको बुझाइ नै बेठिक भएको जिकिर गरे । उनले सङ्घीयता कार्यान्वयनको लागि सङ्घीयताका पक्षधरहरूले दबाब दिनुपर्नेमा जोड दिए ।