३१ बैशाख, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।
मंगलबार उनले सिरियाको नयाँ सरकारसँगको सम्बन्ध सामान्य बनाउने र देशलाई शान्ति स्थापना गर्ने मौका दिन उसमाथि लगाइएको प्रतिबन्धहरू हटाउने बताएका हुन् । ट्रम्पले बुधबार सिरियाली राष्ट्रपति अहमद अल–शारालाई भेट्ने कार्यक्रम रहेको ह्वाइट हाउसले भनेको थियो ।
गत वर्ष शारा नेतृत्वको हयात तहरीर अल–शाम (एचटीएस)समेतको विद्रोही समूह मिलेर बसर अल असदको अढाई दशक लामो शासन अन्त्य गरेका थिए ।
मेलमिलापको प्रयास साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आग्रहमा गरिएको ट्रम्पले भनेका छन् । सिरियाको नयाँ सरकारको सफलताको आशा व्यक्त गर्दै उनले शुभकामना समेत दिएका थिए ।