३१ बैशाख, काठमाडाैं । भारतले चार दिनसम्म चलेको संघर्षमा पाकिस्तानले चीनमा निर्मित मिसाइल प्रयोग गरेको पुष्टि गरेको छ ।
भारतीय वायुसेना प्रमुख एयर मार्सल एके भारतीले पाकिस्तानले प्रयोग गरेको चीनमा बनेको पीएल-१५ मिसाइल र टर्कीको बाइकर वाईएचए थ्री कामिकाजे ड्रोनसमेत समावेश रहेका हतियारलाई भारतीय सैन्य बल रोक्न र नष्ट गर्न सफल भएको दाबी गरेका हुन् । एयर मार्सल भारतीले पत्रकार सम्मेलनमा उत्तरी भारतको पाकिस्तान सीमानानजिकै पन्जाबको होसियारपुरमा भेटिएको पीएल-१५ मिसाइलको अवशेषतर्फ इंगित गर्दै यसको टुक्रा पनि स्क्रिनमा देखाएक थिए ।
यता पाकिस्तानले फ्रान्समा बनेका तीनवटा राफेल विमानसहित भारतका पाँचवटा लडाकु विमान खसालेको दाबी गरेको छ । फ्रान्सको एक गुप्तचर स्रोतले सीएनएनलाई राफेल जेट दोहोरो आक्रमणको क्रममा झरेको पुष्टि गरेको थियो । तर, भारतले युद्धमा आफ्ना विमानमा क्षति पुगे÷नपुगेकोबारेका प्रश्नलाई टार्दै सबै पाइलट सुरक्षित रहेको बताउने गरेको छ ।
चीनको एभिएसन इन्डस्ट्री कर्पोरेसनले विकसित गरेको पीएल–१५ मिसाइलले २०० किलोमिटरभन्दा बढी दुरीमा उच्च मूल्यका हवाई लक्ष्य (जस्तैः युद्धक विमान, ड्रोन)लाई नष्ट गर्ने क्षमता राख्छ । यो मिसाइल चीनले पाकिस्तानलाई आपूर्ति गरेका आधुनिक हतियारमध्ये एक हो । सार्वजनिकरूपमा चीनले अहिलेसम्म दुई दक्षिण एसियाली छिमेकी देशबीचको संकटमा कूटनीतिक गतिविधि अपनाएको छ । यसलाई प्रत्यक्ष वार्तामार्फत पूर्ण युद्धको स्थितिबाट फर्काइएको थियो । तर, एक गोप्य सूचनाअनुसार, एक चिनियाँ प्रतिनिधिमण्डलमध्ये रातमा पाकिस्तानको विदेश मन्त्रालय मिसाइल आक्रमणको सफलताको उत्सव मनाउन पुगेको थियो ।