|  

राजनीतिक कार्यकर्ताहरुलाई ‘झोले’ र निजी क्षेत्रलाई विचौलिया र दलाल भनिएकोप्रति मन्त्री भण्डारीको आपत्ति

०१ जेठ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा एमाले नेता दामोदर भण्डारीले राजनीति सही ढंगले परिचालित भए व्याप्त निराशा चिर्न सकिने बताएका छन् ।

नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उद्योगीहरुका माग र मुद्दाहरु सम्बोधन गर्दा दलाल, विचौलियासँग सरकारको मिलोमतो छ भन्ने गरिएकोप्रति आपत्ति जनाए । उनले अर्थतन्त्र चलायमान बनाउन सरकारले केन्द्र भागमा राखेर काम गरिरहेको उल्लेख गरे । अहिले राजनीतिक कार्यकर्ताहरुलाई ‘झोले’ र निजी क्षेत्रलाई विचौलिया र दलाल भन्ने गरिएकोप्रति असन्तुष्टि जनाए । उनले खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेको बताए । सरकारले आगामी बजेटमा निजी क्षेत्रका माग र मुद्दा समेटिने पनि प्रतिवद्धता जनाए ।

मन्त्री भण्डारीले भने, ‘अर्थतन्त्र चलायमान बनाउनुपर्नेछ । अहिले यो चिजलाई केन्द्र भागमा राखेर अघि बढेका छौँ । अहिले एउटा भाषा चलेको छ । राजनैतिक कार्यकर्ताहरुलाई झोले भन्ने, निजी क्षेत्रलाई विचौलिया र दलाल भन्ने । परस्परमा ति खालका अभिव्यक्ति गरेर । राजनीति सबैको नीति हो । सही ढंगबाट परिचालित हुनुपर्छ । सही दिशा निर्देश भयो भने सबैकुरा ठिक ढंगले अघि बढ्छ । त्यो ठिक ढंगले अघि बढ्न पनि आजको खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेछ । व्याप्त निराशा चिर्नुपर्नेछ । मनोबल उठाउनुपर्नेछ । त्यसका लागि वर्तमान सरकार, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको हैसियतले मैले नेतृत्व गरिरहँदा मन्त्रालय सुधार कार्ययोजना शुरु गरेका थियौँ । २१ दिनको लामो छलफलपछि तपाईंहरुका सुझावअनुसार नै समस्या समाधानमा अघि बढेका छौँ । सरकारले राज्यको शासकीय संरचनाभित्रका जटिलताहरु समाधान गर्नेतर्फ हामी गइरहेका छौँ ।’

मन्त्री भण्डारीले लगानी प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताए । उनले जलविद्युत क्षेत्रमा लगानीको वातावरण सुनिश्चित गरेको बताए । उनले सरकारले लगानीको क्षेत्र फराकिलो बनाएर अघि बढ्न खोजिरहेको बताए ।