१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सभापति रवि लामिछानेविरुद्ध फौजदारी अभियोग लगाइएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले लामिछानेमाथि किर्ते र जालसाजीको आशंकासहित फौजदारी अभियोग लगाए पनि त्यसको कानुनी आधार कमजोर रहेको जिकिर गरिन् ।
उनले संसदीय छानबिन समितिको प्रतिवेदनले लामिछाने कुनै पनि सहकारी संस्थाको सञ्चालक वा सदस्य नभएको र सहकारी अपचलनमा प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट लेखिए पनि राज्यले फौजदारी अभियोग लगाएको भन्दै आपत्ति जनाइन् ।
‘अहिले सार्वजनिकरूपमा जाहेरीकर्ताका रूपमा देखाइएका व्यक्तिहरू आफैँले कुनै किटानी जाहेरी नदिएको, नामसमेत आफ्नो जानकारीबिना अभियोगपत्रमा समावेश गरिएको बताएका छन्’, उनले थपिन्, ‘राज्यले किर्ते जाहेरी तयार गरी एक उदाउँदो राजनीतिक नेतृत्वलाई लक्षित गरेर मुद्दा खडा गरेको यसले देखाउँछ ।’