०१ जेठ, काठमाडाैं । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको काम समयमै सम्पन्न गर्न नसकेको भन्दै सांसदहरूले ठेकेदारको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै सांसदहरूले ठेकेदारले सरकारलाई नटेरेको बताएका हुन् । समिति बैठकमा नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ठेकेदारकै कमजोरीले गर्दा सङ्घीय संसद भवनको काम समयमै नसकिएको बताए । उनले ठेकेदारले समयमै काम शुरु नगर्ने, आवश्यक जनशक्तिको प्रयोग नगर्दा काम समयमै सम्पन्न हुन नसकेको बताए । उनले आवश्यक बजेटको कमी नहुँदा समेत काम नहुनु चिन्ताजनक भएको जिकिर गरे ।
उनले भने, “एउटा प्रोजेक्टको तयारी गर्ने भनेको के हो भने हामी यति मितिमा सक्छौँ, यति जनशक्ति लगाउँछौँ, यो यो कन्डिसनहरू गिभन गर्न सक्नुहुन्छ, यसमा सरकारको तर्फबाट त कमजोरी देखिएन । पैसा कति भएको छ, करिब करिब पेमेन्ट पनि भएको छ । पैसाको कमजोरी छैन यहाँ । ठेकेदारबाट नै कमजोरी भइरहेको छ । उसले समयमा नलगाइदिने, जनशक्ति पूरा नलगाउने, अनि जनशक्ति किन लगाएनौँ भनेर हामीले सोध्न नसक्ने हो भने कहिलेदेखि भयो यो गल्ती । किन भयो यो गल्ती ? नलगाए हुन्छ, ल गर्दै गर भन्ने कतै विभागबाट भयो कि ? एउटा कुरा पनि हो नि सोध्न सक्ने, बुझ्न सक्ने कुरा त अब ।”
समिति बैठकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले देश नै ठेकेदारले चलाएको भन्दै सरकारको टिप्पणी गरे । उनले निर्माणाधीन सङ्घीय संसद भवनको हालसम्मको प्रगति हेर्दा थपिएको समयभित्र पनि सम्पन्न हुने कुनै आशा नरहेको बताए । उनले दायित्व अनुसार काम नगर्नेहरूलाई सरकारले कारबाही सुरु गर्नुपर्ने बताए । उनले थपिएको दुई दिनमा निर्माण सम्पन्न नहुने आशा नरहेकोले पेनाल्टीसहित ठेक्का रद्ध गर्नुको विकल्प नरहेको जिकिर गरे ।
नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमलसेनाले निर्माणाधीन सङ्घीय संसद भवनको ७-७ दिनमा कडाइका साथ प्रगति विवरण हेर्नुपर्ने बताए । उनले अब पनि कडाइ नगर्ने हो भने थपिएको म्यादमा समेत निर्माण सम्पन्न नहुने बताए । उनले हरेक ७-७ दिनमा अनुगमनसहित प्रगति विवरणको हिसाब खोजे मात्रै कामले गति लिने धारणा राखे । उनले पैसा हुँदाहुँदै पनि समयमा काम नहुनु ठेकेदारले राज्यलाई हेपेको जिकिर गरे ।
समिति बैठकमा नेकपा (एमाले)का सांसद लालप्रसाद सावा लिम्बूले ठेक्का प्रक्रियामा ठेकेदारले काम गर्ने र राज्यले म्याद थपिरहने प्रवृत्ति देखिएको बताए । उनले अहिले नै ठेक्का तोडिहाल्ने स्थितिमा नरहेको बताउँदै कडाइका साथ प्रश्तुत हुन सरकारलाई आग्रह गरे । उनले अबको दुई सय दिनमा पनि काम नभए ठेक्का तोड्ने वा पेनाल्टीसहित कारबाही गर्नुपर्नेमा जोड दिए ।
२०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । तर तीन वर्षमा निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता गरिएको सङ्घीय संसद् भवन साढे ५ वर्ष नाघिसक्दा पनि सम्पन्न भएको छैन ।